बाँके। बाँकेमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत निर्माणाधीन दुई वटा पुल निर्धारित समयभन्दा पहिले नै सम्पन्न हुने भएका छन् ।
लुम्बिनी प्रदेश अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयका अनुसार कोहलपुरस्थित रोहिणी खोला पुल र कम्दी–कचनापुर जोड्ने गौरीखोला पुलको निर्माण कार्य निर्धारित समयभन्दा पहिले नै सम्पन्न हुने अवस्थामा पुगेको हो।
गौरी खोला पुल नारायणम निर्माण सेवाले पाँच करोड ७ लाख २ हजारमा २०८० मङ्सिर २२ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।
यसैगरी रोहिणी नाला पुल २०८० मङ्सिर २३ गते सम्पन्न गर्ने गरी मल्ल–नारायणम जेभीले सात करोड १० लाख २३ हजार रुपियाँमा सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय बाँकेले जनाएको छ। पुलको स्ल्यापको काम सम्पन्न भइसकेका कारण असार मसान्तभित्र दुवै पुलको निर्माण काम पूरा हुने अवस्था देखिएको सडक पूर्वाधार कार्यालयका प्राविधिक अधिकृत ओमप्रकाश पौडेलले जानकारी दिए।
सडक पूर्वाधार विकास कार्यालय अन्तर्गत किरण नालाको चल्तुवा, सिर्जना टोल, पुलचोक, लगायतका स्थानमा पुल निर्माणमा ढिलाइ भएको कार्यालयले जनाएको छ । रोहिणी र गौरी खोलाभन्दा पहिले सम्झौता भएका पुलहरू समेत निर्माण सम्पन्न भएका छैनन्। रोहिणी र गौरी खोलासँगै सुरु भएका पुलहरूको निर्माण कार्य समेत सुस्त छ ।
निर्माण कम्पनीले बढीभन्दा बढी ठेक्का लिने तर आफूसँग पर्याप्त उपकरण र स्रोत साधन नभएका कारण निर्माण कार्यमा ढिलाइ भएको पाइएको प्राविधिक कर्मचारीले बताएका छन् । स्रोत: गोरखापत्र