ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको सिमानास्थित सिस्ने खोलामा काठे पुल निर्माण गरिएको छ। उक्त काठे पुल श्रमदानमार्फत निर्माण गरिएको हो।
६ दिनसम्म श्रमदान गरेर सवारी साधन (गाडी) सञ्चालन हुने काठेपुल निर्माण गरिएको हो। तमोर कोरिडोरअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको सिमाना भई बग्ने सिस्ने खोलामा काठेपुल निर्माण भएसँगै यातायातका साधान सञ्चालन हुन थालेको बताइएको छ।
पुल निर्माणपछि सातवटा वडा रहेको सिङ्गो फक्ताङ्लुङ गाउँपालिकावासीलाई नै राहत पुगेको छ। पुल निर्माणका लागि श्रमदान गर्नमा गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि, लिङ्खिम, फुरुम्बुलगायत वडाका सर्वसाधारण सहभागी बनेका थिए।