सुनसरी। इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन डोजर चलाएको छ। रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत इटहरीको मुख्य बजारका संरचना भत्काउन इटहरीका प्रमुख हेमकर्ण पौडेलले शुक्रबार बिहान डोजर चलाएका हुन्।
प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी ६ लेन सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा आज दोस्रो पटक डोजर चलाएका छन्।
यसअघि उपमहानगरले गत माघ महिनामा बिराटनगर लाइनमापर्ने वडा नम्बर ६ का ३४ वटा घर भत्काएको थियो। वडा नम्बर ९ का एक दर्जनबढी घर भत्काएपनि केही घरधनीले अटेर गर्दै आएका थिए । पटक पटक आग्रह गर्दा पनि ९ नम्बर वार्डका केही घरधनीले घर नभत्काएपछि बल प्रयोग गरेर भत्काउन सुरु गरेको नगरप्रमुख पौडेलले बताए ।
घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ पूर्णरुपमा सडक विस्तार हुन सकेको छैन । इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र इटहरी ९ स्थित विराटनगर लाइनमा भने केही स्थानियको अवरोधले सडक बिस्तारको काम बााकी नै छ ।
नगरप्रमुख पौडेलले सडक क्षेत्रभित्रका संरचनाहरु निरन्तर भत्काउादै जाने बताए । विकासको काममा विरोध नगरौं भनेर सबै घरवालालाई सम्झाए पनि केहीले समय मागेर पनि अटेर गरेपछि डोजर चलाएको बताए ।