पाल्पा। तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडक कालोपत्रेको काम सुरु भएको छ। निर्माण व्यवसायीको लापरबाहीले सात वर्षदेखि अलपत्र बनेको सडकको काम सुरु भएको हो।
१५ महिनामा सम्पन्न गर्नेगरी २०७३ असोज १९ गते वाइपी जयरक्तकाली जेभी पुलचोक ललितपुरसँग सडक कालोपत्रेको लागि सम्झौता भएको थियो। सम्झौता अनुसार काम नगरी निर्माण कम्पनीले कालोपत्रेको काम सात वर्षदेखि अलपत्र पारिरहेको थियो।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय हुँदा नै विश्व बैङ्कको आठ करोड ३१ लाख लागतमा सडक कालोपत्रे गर्न सम्झौता भएको थियो। हाल यो सडकको जिम्मा लुम्बिनी प्रदेश सरकार मातहतको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले लिँदै आएको छ। निर्माण व्यवसायीलाई पटक पटक ताकिता गरेपछि कालोपत्रेको काम सुरु भएको सडक पूर्वाधार कार्यालयले जनाएको छ। धेरै पटकको दबाब र कारबाही गर्ने चेतावनीपछि व्यवसायीले सडक कालोपत्रे गर्ने काम सुरु गरेको हो।