मकवानपुर। पहिरो खसेपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध बनेको छ। शुक्रबार राति परेको वर्षाका कारण ललितपुरको भट्टेडाँडा नजिक पहिरो खस्दा आज बिहानदेखि कान्ति लोकपथ अवरुद्ध भएको हो।
भट्टेडाँडामा आज बिहान ७स्४५ बजेको समयमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका कारण हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सवारीसाधन जाममा परेका छन् ।
काठमाडौँबाट कान्ति लोकपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको सवारीसाधनहरूलाई ललितपुरको भट्टेडाँडा प्रहरी चौकी र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको सवारी साधनहरूलाई मकवानपुरको प्रहरीले ठिंगनमा रोकेको छ ।
वर्षा भइरहेकोले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । मौसममा सुधार आएसँगै पहिरो पन्छाएर दुवैतर्फको यातायात सञ्चालनमा ल्याउने प्रहरीको भनाई छ ।