काठमाडौं। हिमालय एअरलाइन्सले आजदेखि काठमाडौं–बेइजिङ नियमित उडान सुरु गरेको छ। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानको ७ बजेर ४० मिनेटमा हिमालयको एच नाइन ६६५ विमानले पहिलो उडान गरेको हो।
प्रारम्भिक उडानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले यात्रा गरेका छन्। विमान बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण भएको छ।
काठमाडौं–बेइजिङ उडान अवधि ४ घण्टा ४५ मिनेटको हो। बेइजिङबाट उक्त विमान दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान तालिका छ। उक्त विमान काठमाडौंममा साँझ ६ बजेर ३० मिनेटमा अवतरण भएको छ।
यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्ने छन्। बेइजिङ र काठमाडौं आउजाउ गर्ने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प भइरहँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने विश्वास रहेको हिमालयले विज्ञप्तिमा उल्लेख गरेको छ।