सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हिमाली क्षेत्र तेम्बाथानको माथिल्लो क्षेत्रमा निर्माण हुने दुई जलविद्युत् आयोजना एकसाथ निर्माण हुने भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको सार्वजनिक सुनुवाइमा आयोजनाले तत्काल पहुँचमार्ग विस्तार गरी काम अगाडि बढाउने जानकारी गराएको छ ।
ब्रम्हायणी ३६.५२ र माथिल्लो ब्रम्हायणी १५.१५ मेगावाट क्षमताको जलविद्युत् आयोजना भएको र यसका लागि पूर्वाधार तयारीका काम तत्काल सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुआतबाट आयोजना निर्माण हुने ब्रम्हायणी जलविद्युत् आयोजना र माथिल्लो ब्रम्हायणीको निर्माण कम्पनी इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिका प्रमुख भरत पराजुलीले जानकारी दिए ।
कम्पनीले आयोजना निर्माणस्थल जुगल गाउँपालिका–२ र ३ सम्म पुग्ने १६ किलोमिटरमध्ये १० किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको र बाँकी छ किलोमिटर सडक निर्माण सम्पन्न गरी आयोजनाको काम शुरु गर्ने भएको छ ।