काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोसी, मर्स्याङ्दीलगायत विद्युत् आयोजनाको बिजुली किन्न भारत सकारात्मक देखिएको बताएको छ ।
नेपाल र भारतका ऊर्जासचिवबीच द्विपक्षीय ऊर्जा सहकार्य वृद्धि गर्नेबारे भएको छलफलमा भारत बिजुली किन्ने बारेमा सकारात्मक देखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको नेतृत्वमा सोमबार भारत गएको तीन सदस्यीय टोलीले भारतीय ऊर्जासचिव आलोक कुमारबीच द्विपक्षीय छलफल गरेको थियो ।
भ्रमण टोलीका सदस्यसमेत रहेका घिसिङले भने, ‘नेपाली टोलीले माथिल्लो तामाकोसी, मस्र्याङ्दीलगायत आयोजनाको विद्युत्लाई पनि बजार पहुँच दिन आग्रह गरेको थियो, भारतीय पक्षले सकारात्मक रहेको उत्तर दिएको छ।’
एजेन्डामा आधारित औपचारिक छलफल नभई शिष्टाचार भेटघाट भएकाले ऊर्जा सहकार्य वृद्धि गर्ने विषयमा नेपालका चासोहरू राखिएको सचिव कार्कीले बताए ।