घोराही। दाङको घोराही–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडक समयमै मर्मत नहुँदा भासिने जोखिम बढेको छ । सडक मर्मत नहुने र वर्षाको समयमा ठुलो पानी पर्दा सडकमा थप क्षती हुने जोखिम बढेको हो ।
घोराही–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडक खण्डअन्तर्गत दाङको बङ्गलाचुली गाउँपालिका–५ को टोर्केलेकमा गत असोज महिनामा परेको वर्षाका कारण कालोपत्रे गरिएको सडक भासिएर चिराचिरा परेको छ । उक्त सडक भासिएको करिव आठ महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन ।
दाङको बङ्गलाचुलीसँगै प्यूठानबासीका लागि घोराही आउन र जानका लागि मुख्य सडकका रुपमा रहेपनि सडक डिभिजन कार्यालय दाङको लापरबाहीका कारण सडक मर्मत हुन नसकेको हो । भासिएको सडक मर्मतका लागि पटकपटक आग्रह गर्दा पनि सडक मर्मत हुन नसकेको बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले बताए। गाउँपालिका उपाध्यक्ष जिसीले भने, सडक भासिएको लामो समय भैसक्यो । अब बर्खाको समयमा थप हुनसक्ने भएकाले सडक मर्मतका लागि भनिरहेका छौं । तर सडक डिभिजन कार्यालयसँगै निर्माण व्यवसायीको लापरबाहीले मर्मत सम्भार हुन सकेको छैन । तर मुर्कुटीदेखि प्यूठानको सिमासम्मको सडक बिग्रिएको ठाउँमा निर्माण व्यवसायीले सडक मर्मतको काम भने गरिरहेको उपाध्यक्ष जिसीले बताए।
घोराही–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडकखण्ड अन्तर्गत बिग्रिएको सडकको मर्मतको काम जलजला निर्माण सेवा गर्नुपर्ने भएपनि ढिला गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर रिकेश महर्जन बताउए । सूचना अधिकारी महर्जनले भन, पुरानै सम्झौता अनुसार बिग्रिएको सडकको मर्मत सम्भारको काम जलजला निर्माण सेवाले गर्नुपर्ने हुन्छ । तर केही प्राविधिक समस्या कारण देखाउँदै निर्माण कम्पनीले काम गर्न मानेको छैन ।
समयमै सडक मर्मत नहुने र वर्षाको समयमा सडक थप भासियो भने बङ्गलाचुली गाउँपालिकाका मुर्कुर्टी लगायतका प्यूठानबाट सिधै घोराही आउने सडक बन्द हुने अवस्था छ । जस कारण गाडीहरुलाई भालुवाङ, लमही भएर घोराही आउनुपर्ने बाध्यता हुनसक्छ । जस्ले गर्दा बिरामीहरुलाई उपचारका लागि घोराही ल्याउन समस्या हुने देखिन्छ । उक्त सडक खण्डको घोराहीदेखि तापासम्म चुनढुङ्गाका लागि टिप्परहरु समेत चल्ने भएका कारण सडकको अवस्था कमजोर भएको हो । वर्षा हुँदा पहिरो खस्ने तथा खाल्डाखुल्टी पर्ने गर्छ । गोरखापत्रबाट