म्याग्दी। धवलागिरी गाउँपालिका–१ गुर्जामा गुर्जा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। निर्धारित लक्ष्यभन्दा अघि नै गुर्जा खानेपानी आयोजना निर्माण पूरा भएको हो।
धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गरेर पुगिने गुर्जामा निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजिकरण तथा समन्वयबाट समय अघि नै खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो।
अन्य स्थानमा निर्माण व्यवसायीले आयोजना अलपत्र पारिरहेको भन्ने खबर आइराख्दा दुर्गम तथा विकट क्षेत्र गुर्जामा भने सरोकारवालाको इच्छाशक्तिका कारण समयअघि नै निर्माण कार्य पूरा भएको बताइएको छ।
कूल ५० लाख लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरी गाउँपालिका र बेनीको बिएण्डडी निर्माण सेवा बीच २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो । ४४ लाख ७८ हजार ११२ मा भएको सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो ।
असार १० गतेनै सम्झौता अनुसारको सबै काम सम्पन्न भएको छ । काम शुरु गरेको ४३ दिनमा काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।