काठमाडौं। भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान गर्ने तयारी भइरहेको छ। नेपाल वायुसेवा निगमले भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान सुरु गर्ने भएको हो ।
हाल मलेसियाबाट भैरहवामा अवतरण हुँदै आएको निगमको जहाजले काठमाडौँ आउँदा दिल्ली र हङकङ जाने यात्रुसमेत लिएर काठमाडौँ आउने छ । काठमाडौँ आएका यात्रुलाई निगमको सोही उडान वा निगमकै अर्को उडानमार्फत गन्तव्यमा पुर्याउने तयारी भइरहेको निगमले जनाएको छ।
यस्तो उडान हरेक मङ्गलबार हुने बताइएको छ। हाल निगमले काठमाडौँबाट दिल्ली दैनिक दुई र हङकङ हप्तामा दुई दिन मङ्गलबार र शनिबार उडान गर्दै आएको छ ।
विश्व प्रसिद्ध स्थल लुम्बिनीलाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन र गण्डकी तथा कोशी प्रदेशबाट हङकङमा कार्यरत लाहुरे धेरै रहेकाले यात्रुको सहजतालाई हेरेर उडान विस्तार गर्न लागिएको बताइएको छ ।