म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङतातोपानीस्थित भुरुङ खोलामा बेलिव्रिज निर्माण गरिएको छ। कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरोला) सडक आयोजना अन्तर्गत भुरुङ खोलामा एक हप्ताको अवधिमा बेलिव्रिज निर्माण गरिएको हो।
गत जेठ ६ गते खोलामा आएको बाढीले तीन मिटर लामो कल्भर्ट पुल बगाएपछि ३० लाख लागतमा एक हप्ताको अवधिमा आकस्मिक रूपमा ३० मिटर लामो बेली ब्रिज निर्माण गरिएको छ।
कल्भर्ट पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोलामा सवारी वारपार गरिँदै आएको थियो। बेलिब्रिज निर्माण सम्पन्न भएपछि मुस्ताङ आवतजावत नै पर्यटक र स्थानीयवासीलाई सिधा यातायात सेवामा सहज हुनेछ ।