काठमाडौं। तामाकोसी–५ जलविद्युत आयोजना निर्माणका लागि ठेक्का आह्वान गरिएको छ।तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले ९९.८ मेगावाटको आयोजनाको सिभिल संरचना र हाइड्रोमेकानिल इक्विपमेन्टको ठेक्का आह्वान गरेको हो।
इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा निकालिएको बोलपत्रमा दुई महिनामासम्म आवेदन दिन मिल्ने छ।
यस्तो मोडलमा निर्माण गर्दा ठेक्का पाउने कम्पनीले डिजाइन, निर्माण खरिद लगायतका सबै काम गर्नुपर्छ। यो
आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ।
दुईवटा प्याकेजमा आयोजना निर्माण गर्न लागिएको छ। सोही अनुसार पहिलो प्याकेजको ठेक्का निकालिएको हो। दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल अर्थात ट्रान्समिसन लाइनको ठेक्का निकाल्ने तयारी छ।
कम्पनीले आयोजना निर्माणका लागि यसअघि नै ठेक्का निकालेको थियो। उक्त ठेक्कामा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिष्टमा परेका थिए।
सर्टलिष्टमा परेका दुई कम्पनीसँग आर्थिक प्रस्ताव मागियो। दुवैले तामाकोसी जलविद्युत कम्पनीले गरेको इस्टिमेटभन्दा बढी रकमको प्रस्ताव हाले। सोही कारण कम्पनीले ठेक्का रद्द गरेको हो।