काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन बनाउन धेरै समस्या भएको र यसमा वन मन्त्रालयले सहजीकरण नगरेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालको नयाँ कार्य समितिको स्वागत तथा बधाई कार्यक्रममा निर्देशक घिसिङले प्रसारण लाइन पूर्वाधार नहुँदा विद्युत आदानप्रदान गर्न ठूलो समस्या परेको बताएका हुन्।
उनले भने, ‘प्रसारण लाइन निर्माणमा प्राधिकरणले ठूलो सास्ती बेहोरिरहेको छ, मन्त्री परिषदको निर्णय कार्यान्वयनमा पनि वन मन्त्रालयले ढिलासुस्ती गरेको छ, समयमै सहजीकरण गरेन। प्रसारण लाइन नभएकै कारण निजी क्षेत्रबाट उत्पादित बिजुली प्राधिकरणलाई लिन समस्या भएको छ।’
उनले विद्युत प्राधिकरणले आकस्मिकता (कन्टेजेन्सी) को कारण देखाउँदै उत्पादन घटाउनुपर्ने अवस्थाको समाधानका लागि विद्युत प्राधिकरण अघि बढेको र सकेसम्म यस्तो समस्या आउन नदिने बताए ।
कार्यकारी निर्देशक घिसिङले बाढीबाट प्रभावित भएका जलविद्युत आयोजनाहरुको समस्यालाई सम्बोधन गर्नका लागि प्राधिकरण अघि बढ्ने र यसबारे पनि इप्पानसँग बसेर थप छलफल गर्ने बताए ।