काठमाडौं। काभ्रे जिल्ला बनेपा नगरपालिका–१४ राउत गाउँमा निजी क्षेत्रको हवाई कम्पनी सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सहमति दिएन।
पर्यटनमन्त्री सुदन किरातीको एकल निर्णय अनुसार सिम्रिकलाई दिइएको हेलिपोर्ट निर्माण इजाजत हवाई नीति विपरीत रहेको प्राधिकरणले ठहर गरेको हो।
मन्त्रीस्तरीय निर्णयपछिको प्रक्रियाअनुसार प्राधिकरणले बुधबार पर्यटन मन्त्रालयलाई यो निर्णय हवाई नीति विपरीत रहेको राय सुझाव पेश गरेको छ।
मन्त्रीपरिषद्बाट संविधान र कानुन बमोजिम निजी क्षेत्रबाट हेलिपोर्ट निर्माण गर्न दिने गरी कुनै निर्णय नभएका कारण सैद्धान्तिक सहमति कार्यन्वयन गर्नै असम्भव रहेको प्राधिकरणले जनाएको छ।
ऐनमा कुनै पनि विमानस्थल वा हेलिपोर्ट निजी जग्गामा निर्माण गर्न दिने कुरा परिकल्पना समेत गरिएको छैन।
विमानस्थल वा हेलिपोर्ट भनेको संवेदनशील विषय हो। विश्वभरीनै सरकारी जग्गामा विमानस्थल वा हेलिपोर्ट निर्माण भएर संचालनका लागि मात्रै निजी क्षेत्रलाई दिने चलन छ। नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार कुनै पनि विमानस्थल निर्माण र मर्मतसम्भार लगायतको काम प्राधिकरणले गर्ने उल्लेख छ।
गैरसैनिक हवाई उडान ऐनमा कुनै पनि ठाउँमा विमानस्थल वा हेलिपोर्ट निर्माण गर्न दिँदा नेपाल सरकारको स्वीकृति आवश्यक पर्छ। त्यो भनेको मन्त्रिपरिषद्बबाट विमानस्थल निर्माणको स्वीकृति चाहिन्छ। तर, किरातीले मन्त्रीस्तरीय निर्णय गर्दै सिम्रिकलाई हेलिपोर्ट निर्माण गर्न दिएका थिए।