काठमाडौं। स्थानीय सरकारको गाउँ उज्यालो बनाउने अभियान अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेको निपाने गाउँमा विजुलीबत्ती बलेको छ। स्थानीय सरकार आउनुअघि नै १० वर्षदेखिको स्थानीयको विजुली बाल्ने चाहना बल्ल पूरा भएको त्यहाँको एकले बताएका छन्। उनका अनुसार अब सो गाउँका बालबालिकाले उज्यालोमा पढ्न पाउने छन् भने गृहिणीले उज्यालोमा काम गर्न पाउने भएका छन्।
त्यसैगरी गाँउलेहरुले विजुलीबाट गाउँमा रेडियो बजाउन, टेलिभिजन हेर्न, मेसिन घट्टा चलाउन साथै, विजुलीबाटै खाना पकाउन, पंखा, फ्रिज आदि चलाउन सक्ने भएका छन्। गत तिहारको लक्ष्मीपूजाका दिनदेखि बाल्न सुरु गरिएको विजुलीको पोल, तार तथा मिटरबक्स विस्तार गर्न वडा, नगरपालिका, स्थानीय सामुदायिक वनको प्रमुख योगदान र भूमिका रहेको छ। विद्युत कार्यालयसमेतको सहयोगमा राष्ट्रिय प्रशारणको विद्युत विस्तार भएको हो। स्थानीय सरकारलाई ४ वर्ष यता वडामा नब्बे प्रतिशतभन्दा बढी गाउँहरु उज्यालो बनाउन सफलता मिलेको वडाध्यक्ष कुरुङ राईले जानकारी गराएका छन्।
विगतमा ओझेलमा परेको एकान्त ठाउँ विजुली विस्तारसंगै गाउँको स्वरुप नै परिवर्तन भएको छ। यसवर्ष उज्यालो तिहार मनाएका गाउँलेहरुले अव अन्धकारलाई विदा गरेको महशुस गरेका छन्। त्यस्तै सरकारले हालै २० युनिट भन्दा मुनि बिजुली बाल्ने उपभोक्तालाई विद्युत निःशुल्क गरिदिएको छ। विपन्न वर्गको बसोबास रहेको सो गाउँमा निःशुल्क विजुली बल्ने देखिएको छ। विजुली अहिलेको युगमा मानवीय विकासका लागि अपरिहार्य कुरा भएकाले सदुपयोगमा ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङले बताएका छन्।त्यसैगरी गाउँमा विजुली बल्दा खुसीयाली मनाएका गाउँलेहरुले हर्षोल्लासका साथ तिहार मनाउँदै सरकारले खानेपानी र सडकका अधुरो कामहरु पूरा गरिदिन आग्रह पनि गरेका छन्।