काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका ३, ५ र ६ भएर बग्ने बुढीगण्डकी नदीमा निर्माण गर्न लागिएको ९१.५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत आयोजना निर्माणका लागि १२ अर्ब ६५ करोड लागत लाग्ने भएको छ।
वातावरणीय मूल्यांकन (इआईए) प्रतिवेदन अनुसार आयोजनाको प्रतिमेगावाट लागत १२ करोड ३६ लाख १२ हजार रुपैयाँ लाग्ने भएको हो।
आयोजनाको सम्भाव्यता अध्ययन र इआईए प्रतिवेदन तयार भइसकेको छ।
आयोजनाको प्रवर्द्धक सूर्य इनर्जी प्रालिले इआइए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाएको थियो। बुधबार मन्त्रालयले इआइए प्रतिवेदन सार्वजनिक गर्दै एक साताभित्र रायरसुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ। इआइए प्रतिवेदन स्वीकृत भएपछि निर्माणको बाँकी प्रक्रिया अघि बढाउने तयारीको तयारी छ।
आयोजनाका लागि कुल १५.५२ हेक्टर जग्गा आवश्यक पर्छ। जसमध्ये १०.७२ हेक्टर राष्ट्रिय वन अन्तर्गतको मनास्लु संरक्षण क्षेत्र र ४.८ हेक्टर निजी जग्गाबाट प्रयोग गरिनेछ। मनास्लु क्षेत्रबाट ४०९ र निजी जग्गाबाट २० वटा साना ठूला रुखहरु कटान गरिनेछ।
निर्माण थालेको ५ वर्षमा व्यवसायिक उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ।