बेनी। म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको अर्कला जोड्ने गरी मराङखोलामा पक्की पुल निर्माण भएको छ। दुई करोड ७२ लाख लागतमा उक्त पक्की पुल निर्माण सम्पन्न भएको हो।
सात मिटर चौडाइ र २५ मिटर लामो पक्की पुल निर्माण भएको छ। पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते दुई वर्षमा सक्नेगरी पोखराको फेवा सावित्री निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।
निर्माण कम्पनीले पुल निर्माण कार्य सम्पन्न गरेसँगै सवारीसाधनसमेत आवतजावत गर्न थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
कोरोना महामारीलगायत कारण ढिलासुस्ती भएको पुलमा अन्तिम पटक थप भएको समयसीमाभित्र निर्माण कम्पनीले काम सम्पन्न गरेको हो।
पुल निर्माण नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए। पुल निर्माण भएपछि वर्षात्का समयमा समेत सवारीसाधन आवतजावत गर्न सहज भएको स्थानीयले बताएका छन्।