तनहुँ। १२६ मेगावाट जडित क्षमताको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वको तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गर्न आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अध्ययनका लागि बिहीबार सार्वजनिक सुनुवाइ भएको हो।
आयोजनाको प्रभावित क्षेत्र, निर्माणबाट त्यस क्षेत्रमा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रभावहरु र त्यसका न्यूनीकरणका उपायहरुका विषयमा सरोकारवालाहरुलाई जानकारी दिइएको छ।
कम्पनीले तनहुँ जलविद्युत आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाह समेत प्रयोग गर्न करिब १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा तल्लो सेती आयोजना निर्माण प्रस्ताव गरेको छ। बन्दिपुर–६ तथा देवघाट–३ को सीमानामा पर्ने सराङघाट नजिक २१३ मिटर लम्बाइ, ३२ मिटर उचाइ र २०० मिटर चौडाइ भएको बाँध (ब्यारेज) निर्माण गरी सेती नदीको पानीलाई फर्काइने छ। यसरी फर्काइएको पानीलाई देवघाट–३ र ४ हुँदै जाने ६.८ किलोमिटर लामो मुख्य सुरुङबाट विद्युतगृहसम्म पुर्याइने छ।