काठमाडौं। ऊर्जा डेभलपर्सको सम्बद्ध संस्था एसियन हाइड्रोपावरद्वारा इलाममा निर्माण सम्पन्न तल्लो जोगमाई खोला जलविद्युत आयोजना (६.२ मेगावाट)ले व्यापारिक उत्पादन शुरु गरेको छ।
विद्युत खरीद बिक्री सम्झौता (पीपीए) बमोजिम विद्युत प्राधिकरणको प्रतिनिधिका रोहवरमा विभिन्न चरणका परीक्षणहरु सम्पन्न भएका थिए। १५ दिनको परीक्षण उत्पादनसमेत सफलतापूर्वक सम्पन्न गरेपछि आयोजनाले प्राधिकरणबाट स्वीकृति प्राप्त गरी व्यापारिक उत्पादन आरम्भ गरेको हो।
व्यापारिक उत्पादन शुरु भएसँगै तल्लो जोगमाईले वार्षिक ३ करोड ५९ लाख २० हजार युनिट बिजुली राष्ट्रिय प्रणालीमा योगदान गर्ने आयोजनाले जनाएको छ। उक्त आयोजनाको प्रवधक कम्पनी एसियन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने अन्तिम चरणको तयारी समेत गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा छ।
उर्जा डेभलपर्सकै सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीद्वारा इलाम जिल्लामा निर्माण सम्पन्न ९.५१ मे.वा क्षमताको माइबेनी आयोजनाले यसअघि गत असोज १ देखि व्यापारिक उत्पादन शुरु गर्नुका साथै आइपीओ निष्काशन तथा बाँडफाँटको कार्यसमेत सम्पन्न गरिसकेको छ।