काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सडकमा आधुनिक बत्ति जडान हुने भएको छ । करिब १३ करोड लगानीमा महानगरका मुख्य सडकमा आधुनिक बत्ति जडान गर्न लागिएको हो ।
महानगरका मुख्य सडक क्षेत्रमा २५ सय ५० बत्ति जडानको काम शुरु भएको छ । बत्ती जडान कार्यका लागि टेन्डर अघि बढाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रारम्भिक अध्ययन पूरा गरी काठमाडौं महानगरका ६५ किलोमिटर सडकमा आधुनिक बत्ती जडान गर्ने प्रकृया शुरु गरेको हो । उपत्यकामा सडकमा बत्ती जडान गरी सहरमा रात्रिकालीन सौन्दर्य कायम गर्नको लागि काठमाडौं महानगरपालिका, प्राधिकरण र सडक विभागबीच गत मंसिर २५ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमति अनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै बल्खु र त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्मका दुवै सडक पेटीमा आधुनिक बत्ति जडानको तयारी थालिएको प्राधिकरणले जनाएको छ ।