काठमाडौं। सिन्धुपाल्चोकको विकट हिमाली क्षेत्र तेम्बाथानको माथिल्लो क्षेत्रमा दुई जलविद्युत् आयोजना एकसाथ निर्माण हुने भएको छ।
मंगलवार एकैदिन भएको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइमा आयोजनाले तत्काल पहुँचमार्ग विस्तार गरी काम अगाडि बढाउने जानकारी गराइएको छ। ब्रह्मायणी जलविद्युत् आयोजना र माथिल्लो ब्रह्मायणीको निर्माण कम्पनी इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिका प्रमुख भरत पराजुलीका अनुसार ब्रह्मायणी ३६ दशमलव ५२ तथा माथिल्लो ब्रह्मायणी १५ दशमलव १५ मेगावाट क्षमताको जलविद्युत् आयोजना भएको र यसका लागि पूर्वाधार तयारीका काम तत्काल सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुआतदेखि आयोजना निर्माण हुने भएको छ।
कम्पनीले आयोजना निर्माणस्थल जुगल गाउँपालिका–२ र ३ सम्म पुग्ने १६ किलोमिटरमध्ये १० किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको र बाँकी ६ किलोमिटर सडक निर्माण सम्पन्न गरी आयोजनाको काम शुरू गर्ने भएको छ। निर्माण कम्पनीका प्रमुख पराजुलीले भने, ‘दुवै आयोजना सम्पन्न गर्न १० अर्ब लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ र तीन महिनाभित्र पहुँचमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ।’
दुइवटै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक सुनुवाइ कार्यक्रममा आयोजना निर्माणस्थल तथा प्रभावित क्षेत्र जुगल गाउँपालिका–३ तेम्बाथान र वडा नं २ दीपुका स्थानीयले स्थानीयका जायज माग र वातावरण सुरक्षामा ध्यान दिँदै थप काम अगाडि बढाउन सुझाव पेश गरेका छन्। आफ्नो विकट गाउँमा विकासको कुनै शुरुआत नभएकाले आयोजना निर्माणसँगै गाउँमा विद्युतीकरण, सडक र सामाजिक विकासका अन्य काममा आयोजनाले सहयोग गर्नुपर्ने आफूहरूको माग रहेको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको भनाइ छ।
स्थानीयको जायज माग, पहुँचमार्ग निर्माण, सामाजिक उत्तरदायित्वसँगै प्रत्यक्ष।अप्रत्यक्ष रोजगारी र सञ्चारमा पहुँचको काम आयोजनाले पूरा गर्ने आयोजनाले जनाएको छ। दुई हजार ६ सय ६५ मिटर उचाइमा निर्माण हुने जलविद्युत् आयोजनामा लगन खोला र न्याम्या मसाल खोलाको पानी प्रयोग हुनेछ।