कञ्चनपुर। महाकाली सिंचाइ आयोजना तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ।
आयोजनाले ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाले जानकारी दिएको छ। आयोजनाले नहरमा पानी छोड्ने भएकोले क्षेत्रका बासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।
गत वर्ष टनकपुर ब्यारेजबाट पानी ल्याएर असार १५ गते धान दिवस मनाए पनि भारतीय पक्षले त्यसपछि नहरमा पानी छोड्न मानेको थिएन। आयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ। नहर निर्माण भएको क्षेत्रमा २२ शाखा नहर निर्माणाधीन अवस्थामा छन्। बाइस शाखा नहर निर्माण भए पछि पाँच हजार एक सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। अहिले थप २० किलोमिटर नहर निर्माणको काम चलिरहेको छ ।
आगामी आर्थिक वर्ष २०८०–८१ मा आयोजनाका लागि रु एक अर्ब १७ करोड बजेट विनियोजन भएको छ। राष्ट्रिय गौरवको आयोजना भए पनि अपेक्षाकृत बजेट विनियोजन हुन नसकेको उनले बताए। नहर निर्माण सम्पन्न भए कैलालीको मालाखेतीदेखि कञ्चनपुरको पुनर्वासम्म ३३ हजार पाँच सय २० हेक्टर जग्गामा सिंचाइ सुविधा पुग्नेछ।