पाँचथर। दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन्। मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भत्तजनको कमी आएको हो।
गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालन आउन सकेको छैन। पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएसँगै अहिले ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जालले विच्छेद भएको छ ।
विभिन्न जिल्लाका यातायातका साधन ताप्लेजुङ प्रवेश हुन नसकेसँगै पाथीभरा मन्दिर पूजापाठ गर्न आउने भत्तजनको सङ्ख्यामा कमी आएको हो । विगतमा दैनिक एक हजारको हाराहारीमा आउने भक्तजनको सङ्ख्या अहिले एक सयभन्दा कम हुन थालेको बताइएको छ। समयमै पुल नबन्दा यात्रुलाई सास्ती खेप्नु परेको छ । ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जानका लागि पाँचथरको हेवा खोलावारीसम्म पुगेर खोलामाथि बनाइएको फड्के पुल तरेर वारि पाँचथर जिल्लाबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ ।
तीन साता भइसक्दा पनि राजमार्ग पुनः सञ्चालनमा आउन सकेको छैन । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन । बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् ।