उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकामा पर्ने सरस्वती खोलामा पुल निर्माण सम्पन्न भएको छ। त्रियुगाको वडा नं ९ र ८ लाई जोड्ने सरस्वती खोलामा फलामे पुल निर्माण भएको हो।
चालु आर्थिक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी निर्माण सुरु भएको पुलको काम सम्पन्न भएको हो। त्रियुगा नगरपालिकाले २ करोड ४० लाख ६९ हजार रुपैयाँको लागतमा ६१ मिटर लामो फलामे पुल निर्माण गरेको पालिकाले जनाएको छ।
पुल निर्माण भएसँगै वर्षौँदेखि ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयको भनाइ छ। त्रियुगा नगरपालिका वडा नं ८ उत्तराई टोलका बासिन्दालाई अब वडा कार्यालय र नगरपालिकासम्म सरकारी सेवा लिन जान समेत सहज भएको छ।
पुल निर्माण भएसँगै पुस्तौँदेखि आफूहरुले वर्षातको समयमा खोला तर्न सास्ती खेप्दै आएकोमा अब मानिससँगै अटो रिक्सा, मोटरसाइकल समेत तर्न सक्ने भएको स्थानीय बताउँछन्।
पुल बनेपछि बालबालिकालाई विद्यालय जान आउन समेत सजिलो भएको छ।