काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कान्ति राजमार्गको स्थलगत अनुगमन निरीक्षण गरेका छन्। मन्त्री ज्वालाले शुक्रबार राजमार्गको पछिल्लो अवस्थाबारे जानकारी लिन स्थलगत अनुगमन गरेका हुन्।
स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति राजमार्गलाई व्यवस्थितरूपमा अगाडि बढाउन सरकार र मन्त्रालयको तर्फबाट स्रोत अभाव नहुने बताए ।
उनले निर्माण व्यवसायीलाई तोकिएको समयभित्रै काम सम्पन्न गर्न तथा कुनै पनि कमि कमजोरी नगर्न समेत निर्देशन दिए । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, आयोजना सम्बद्ध अधिकारीको सहभागिता थियो ।
सरकारले यो आयोजनाको चौडा तथा सुधार गरी कालोपत्रमा स्तरोन्नति गर्न ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। कूल ७९ किलोमिटर लामो सो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनःनिर्माण र कालोपत्र गर्न बाँकी छ । त्यसमध्ये पाँच किलोमिटर ललितपुरमा र दुई किलोमिटर मकवानपुरतर्फ स्तरोन्नति गर्न बाँकी छ। कूल ७२ किलोमिटर सडक चौडा तथा सुधार भइसकेको छ ।
राजमार्गको विभिन्न ठाँउमा वर्षात्को समयमा बारम्बार पहिरो गइरहने कारणले गर्दा सडक अवरुद्ध हुन पुगि पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहेको पाइएको छ। पहिरोका कारण बिग्रन गएको सडक पुनःनिर्माण गर्न लाग्ने ठूलो परिमाणको टेवा पर्खाललगायत संरचनाका लागि स्रोतको अभाव हुने गरेको छ । जथाभावी रुपमा पहुँच सडक निर्माण गरिदा पानीको निकासलगायतका समस्या रहेको छ । कमजोर भूबनोटका कारण पनि निर्माण भइसकेको संरचनामा क्षति पुगेको छ ।