कास्की। पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा आएको पहिराका कारण कृषि सडक ६ दिनदेखि अवरुद्ध बनेको छ। पोखरास्थित बागलुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड ६ दिनदेखि अवरुद्ध भएको हो ।
गत असार १७ गते राति परेको अविरल वर्षासँगै गैरीस्वारा भिरमा आएको पहिराका कारण यो सडक खण्ड अवरुद्ध भएको हो ।
गैरीस्वाराको जङ्गलबाट ठूलो चट्टानसहित खसेको पहिराले लगभग एक सय मिटर ढाकेको सडक खुलाउने प्रयास भइरहेको बताइएको छ । महानगर प्रमुख धनराज आचार्यसहितको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि सडक सञ्चालन गर्ने प्रयास सुरु गरिने बताइएको छ।
पोखरा महानगरपालिकाको क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको पोखरा–बागलुङ राजमार्गको नौडाँडा जोड्ने करिब २० किलोमिटर दूरीको कृषि सडक एकतर्फी नालासहित कालोपत्र भइरहेको छ ।
उक्त सडक अवरुद्ध भएसँगै पधेँली–खड्का थर कच्ची बाटोबाट यातायात सञ्चालन भइरहेको छ।