काठमाडौं। चन्द्रागिरि नगरपालिका–१२, गैरीगाउँदेखि चुनदेवी मन्दिरसम्म जाने सडकको स्तरोन्नति एवं सुधार कार्य पूरा भएको छ।
उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँको सहयोगमा उक्त सडक स्तरोन्नति गरिएको हो ।
पर्खाल र ढल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दालाई सम्भावित बाढीपहिरोको जोखिमबाट सुरक्षित बनाएको छ । दुई वर्षको निरन्तर प्रयासपछि जिल्ला आयुक्त कार्यालयका प्रमुख जगदीश लामिछानेको पहलमा सो बाटोको स्तरोन्नति एवं व्यवस्थित ढल निकासको कार्य भएको हो ।
मितेरी मार्गको निर्माण सडक डिभिजन कार्यालयले गर्दैआएको थियो तर गैरीगाउँ–चुनदेवी मन्दिर खण्ड निर्माणका क्रममा सडक डिभिजन कार्यालयले व्यवस्थित ढल निकासको कार्य नगर्दा त्यस क्षेत्रका बासिन्दा केही वर्षदेखि सास्ती खेप्दैआएका थिए । ढल व्यवस्थित नहुँदा माथि डाँडाबाट आएको भेलले बस्ती नै जोखिममा परेको स्थानीय बताउँछन् । अहिले बाटो निर्माण भएपछि ५० घरपरिवार रहेको बस्ती जोगिएको स्थानीयको भनाइ छ।