काठमाडौं। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित भएको छ। निर्माणाधीन २१.३ मेगावाट क्षमताको आयोजना बाढीका कारण प्रभावित बनेको हो।
असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको आयोजनाको बाँधतर्फ अत्यधिक क्षति पुर्याएको छ।
बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको र केही सामग्री पनि बगाएको आयोजनाले जनाएको छ। निमामर््ण कम्पनी साकुरा पावररत्रिपल एस कम्पनीले बाढीबाट रु ४५ लाख बराबरको क्षति पुर्याएको जनाएको छ । आयोजनाको पहुँचमार्ग रहेको रघुगङ्गा–७ चिमखोलादेखि आयोजना स्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ । यसबाट निर्माण सामग्री ढुवानीमा समस्या भएको छ ।
बाँध र विद्युतगृहतर्फको पूर्वाधार निर्माणमा एक सय ३० मजदुर काम गर्दै आएका छन् । सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजनाले जनाएको छ। हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।