काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले पछिल्लो समयमा बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनाको राहतको व्यवस्थाका लागि राहत माग गरेको छ। इप्पानले आइतबार ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्न र बाढीले क्षतिग्रस्त आयोजनाको राहतको व्यवस्था गर्न आग्रह गरेको हो।
इप्पानले ऊर्जामैत्री कानून बनाउन, ऊर्जा विकासका लागि ऊर्जा दशक र ऊर्जा संकटकाल घोषणा गर्न समेत मन्त्री समक्ष माग गरेको छ । २०८० साल जेठ ३२ र असार १ गते आएको बाढीले सञ्चालनमा रहेका १३३ मेगावाटका १३ आयोजना र निर्माणाधीन २७७ मेगावाटका १७ आयोजनाहरुमा बाढीको कारण गम्भीर क्षति भएको बताउँदै इप्पानले मन्त्री बस्नेतसँग व्यापारिक विद्युत उत्पादनको समय दुई वर्ष थप गर्न, रोयल्टी मिनाहा गर्न र क्षतिग्रस्त आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष कायम गर्न माग गरेको छ ।
इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा प्रसारण लाइन, विद्युत खपत लगायतका समस्या देखिएको बताउँदै यसको समाधानका लागि मन्त्री बस्नेतलाई आग्रह गरे । पछिल्लो समयमा भारतसँगको विद्युत व्यापारका लागि सकारात्मक संकेतहरु देखिएको बताउँदै उनले विद्युत खरिद सम्झौता (पीपीए) छिटो गराउने वातावरण निर्माण गर्न तथा विद्युत व्यापारमा निजी क्षेत्रलाई संलग्न गराउन माग गरे ।
ऊर्जा मन्त्री बस्नेतले सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउँदै निजी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने बताए ।