काठमाडौँ। जुम्लाको गुठिचौर गाउँपालिका– ५ कुम्डीमा रहेको नौमूले लघुजलविद्युत् आयोजनाको जलविद्युतगृहमा समस्या आउदा चार गाउँ अन्धकारमा बस्न बाध्य भएका छन्। मङ्गलबारदेखि जलविद्युतगृहमा समस्या आएको हो।
विद्युतगृहमा जडान गरिएको फित्ता चुडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिए। गुठिचौर गाउँपालिका–५ भित्रका कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका उपभोक्ता अध्याँरोमा बस्न बाध्य छन्। विद्युत् गृह मर्मत गर्न अझै एक हप्ता लाग्ने जनाइएको छ।
गाउँपालिकाभित्रका करिब ५५० घरधुरीका उपभोक्ता विद्युतबाट लाभान्वित भएका थिए। विद्युत् अवरोध भएपछि स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, विद्यार्थीलाई पढ्न, सरकारी कार्यालय, गैरसरकारी निकायका कामकाज प्रभावित भएका छन्।