काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकन र भुटानको ड्रुक एयरले उडान गर्ने भएका छन्। भैरहवास्थित सिद्धार्थ होटल संघको संयोजकत्वमा श्रीलंकामा आयोजना भएको ट्राभल मार्टमा पर्यटन सचिव सुरेश अधिकारी र श्रीलंकन एयरलाइन्सका प्रतिनिधिबीच भएको छलफलमा गौतमबुद्धमा उडान गर्न तयार भएको हो।
दुवै मुलुकका पर्यटन व्यवसायीवीच भएको छलफलमा श्रीलंकन एयरलाइन्सका प्रतिनिधिसँग लुम्बिनी प्रवर्धन गर्ने विषयमा छलफल भएको थियो। छलफलमा नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र उताबाट श्रीलंकन एयरलाइन्सको उडान गर्ने विषयमा छलफल भएको बताइएको छ।
नेपाल वायुसेवा निगमको उडान प्रस्तावबारे श्रीलंकाबाट प्रतिकृया आउन बाँकी छ। मन्त्रालयको तर्फबाट श्रीलंकन एयरलाइन्सलाई सुरुमा साताको एउटा उडान भैरहवा गर्न प्रस्ताव गरिएको बताइएको छ।
भुटानको ड्रुक एयरले पनि भैरहवामा उडान गर्न प्रक्रिया अगाडि बढाएको छ। ड्रुक एयरले पारो–गया–भैरहवा त्रिकोणात्मक उडानका लागि सम्भावित अध्ययन सुरु गरिसकेको नेपालका लागि आधिकारी जीएसए डाँफे ट्राभलले जनाएको छ।