काठमाडौं। बेतन कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार भएको छ।
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिवेदन तयार पारेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइसकेको छ।
विभागले उक्त प्रतिवेदनमा स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विभागले बुधबार सार्वजनिक सूचना प्रकाशन गर्दै सरोकारवाला निकायहरुलाई सात दिन भित्र रायरसुझाव पेस गर्न आग्रह गरेको छ।
प्रस्तावित आयोजना सुर्खेत र अछाममा निर्माण हुनेछ। आयोजनाले सुर्खेतको चौकुने गाउँपालिका ४,५ र ६, पञ्चपुरी नगरपालिका-७ र अछामको ढकारी गाउँपालिका ६ र ७, तुर्माखाँद गाउँपालिका ३, ४ र ५ मा प्रभाव पार्नेछ। ४३९ मेगावाटको यो आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ।
करिब ७५ अर्ब रुपैयाँ अनुमान गरिएको यो आयोजना ५ वर्षमा पूरा गर्ने लक्ष्य छ। सञ्चय कोषको अगुवाइमा आयोजना निर्माण गर्न लागिएको हो। सञ्चय कोषले आयोजनाको विद्युत खरिद सम्झौता नै नहुँदै नेपाल एसबीआई बैंक र नबिल बैंकसँग २५ अर्ब रुपैयाँ ऋण लगानीका लागि सम्झौता गरिसकेको छ।