काठमाडौं। म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत आयोजनाको ८२ प्रतिशत काम सम्पन्न भएको छ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको आयोजनाको हालसम्म ८२ प्रतिशत काम पूरा भएको हो।
३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक सय नौ मेगावाट क्षमताको आयोजना १६ अर्ब रूपैयाँ लागतमा निर्माण भइरहेका छन्।
नीलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ निजी क्षेत्रको लगानीबाट दुवै आयोजना निर्माण सुरु गरेको थियो ।
आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युत्गृह निर्माण काम सकिएको छ । नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलानको काम थालिएको छ। पेनस्टक र टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको एक हजार पाँच सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको छ ।