काठमाडौं। पोखरामा करिब एक अर्ब लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरिएको छ। नेपाल आयल निगमले पोखरामा ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की निर्माण गरेको हो।
१० हजार किलोलिटर अर्थात एक करोड लिटर क्षमताको भण्डारण गृह सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले निर्माण गरेको हो।
इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरेको निगमले जनाएको छ।
हालसम्म एक सातालाई मात्र पुग्ने डिजेल भण्डारण हुने गरेकोमा १० हजार किलोलिटर क्षमताको दुई वटा भण्डारण गृह थपिएसँगै पोखरामा डिजेल भण्डारण एक महिनालाई पुग्ने भएको छ।
नेपाल आयल निगमले गण्डकी प्रादेशिक कार्यालय मातहतको निगम डिपोमा हाल पाँच सय किलोलिटर पेट्रोल र डिजेल दुई हजार पाँच सय किलोलिटर क्षमताको भण्डारण गृह रहेको थियो ।
निगमको इतिहासमा दुई दशकपछि भण्डारण क्षमता विस्तार भएको छ । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन ।