काठमाडौं। नागरिक उड्ययन प्राधिकरणले मनसुन भरका लागि माउन्टेन फ्लाइट रोकेको छ। बुधबार एक सूचना जारी गर्दै क्यानले उद्धार उडान लगायतका केही हेलिकप्टर बाहेक मनसुन भरी माउन्टेन फ्लाइटलाई रोक लगाउने जानकारी गराएको हो।
मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि प्राधिकरणले हेलिकप्टरहरुको उडानमा कडाइ गरेको हो। प्राधिकरणले हेलिकप्टरबाट हुने पुष्पवृष्टि जस्ता गैरअत्यावश्यक उडानहरू पनि सेप्टेम्बरसम्म प्रतिबन्धित गर्ने क्यानले जनाएको छ। कम्पनीमा शेयर भएका उडान चालक दलले सबै प्रकारका व्यावसायिक उडानहरूको लागि इजाजतपत्रको विशेषाधिकार प्रयोग गर्न नपाउने पनि क्यानले निर्णय गरेको छ ।
सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर मंगलबार बिहान दुर्घटना हुँदा पाइलट र पाँच यात्रुको मृत्यु भएको थियो । मौसम खराब भएका कारण भएको दुर्घटनापछि क्यानले माउन्टेन फ्लाइट लगायत अन्य गैरअत्यावश्यक उडान पनि रोक्ने निर्णय गरेको हो।