काठमाडौं। सानी भेरी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भएको छ। रुकुम पूर्वमा निर्माण हुने ४४.५२ मेगावाटको सानी भेरी आयोजनाको प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच बुधबार पीपीएमा हस्ताक्षर भएको हो।
आयोजनाका तर्फबाट एक्सपर्ट ग्रुपका अध्यक्ष जयराम अर्याल र प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतामा हस्ताक्षर गरेका छन्।
आयोजनाले उत्पादन गरेको विद्युत हिउँदयाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरीद गर्ने गरी सम्झौता भएको छ।
रुकुम पूर्वको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा निर्माण हुने आयोजना सानी भेरी खोलामा निर्माण हुनेछ। १४५ मिटर हेड रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३६.८ घनमिटररप्रतिसेकेण्ड रहेको छ। आयोजनामा ४ हजार ३०० मिटर सुरुङमार्ग र ३१० मिटर पेनस्टक पाइप प्रयोग हुनेछ।
आयोजनाले आयोजनाको विद्युतगृहदेखि प्राधिकरणको बाफिकोट सवस्टेशनसम्म १३२ केभी क्षमताको २० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने छ। त्यस्तै १० किलोमिटर पहुँचमार्गको पनि स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ। आयोजना निर्माणको अनुमानित लागत ९ अर्ब रुपैयाँ रहेको छ।