म्याग्दी। पहिरोका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा क्षति पुगेको छ। मरेनीस्थित विद्युत्गृह माथिको भिरबाट बिहीबार खसेको पहिराले विद्युत्गृहमा क्षति भएको हो।
जलविद्युत परियोजनाका कतिपय उपकरण पहिराले दरमखोलाको बगरसम्म नै पुर्याएको छ। मुख्य पाइप लाइनमा समेत क्षति भएको छ।
विद्युत् आपूर्ति बन्द भएपछि सिङ्गो वडा नं २ का बासिन्दा बिजुलीबाट बञ्चित भएका छन् ।
दुई वर्षअघि बाढीले परियोजनाको नहर, बाँध र विद्युत्गृह बगाएपछि गत वर्ष मात्रै मर्मत गरेर यस परियोजनाको विद्युत्गृह नै स्थानान्तरण गरेर परियोजनालाई पुनः सञ्चालनमा ल्याइएको थियो । लाखौँ खर्च गरेर मर्मत गरी सञ्चालनमा ल्याएको परियोजनाको विद्युत्गृह एक वर्षमै पहिराले क्षति पुर्याएको छ ।