बाग्लुङ। अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो ।
वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाले बताएको छ। सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने यातायातका साधन ठप्प छन् । पूर्वीरुकुमको रुकुमकोटबाट काठमाडौँ, पोखरा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन् ।
लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको गाउँपालिकाले जनाएको छ।