काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि नगरसभामा पेस गरेको बजेट सर्वसम्मतले पारित भएको छ ।
कामपा उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आवका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । शुक्रबार बसेको नगरसभाको पाँचौँ बैठकमा कामपा प्रमुख बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेस गर्दा पारित भएको हो ।
महानगरको १३औँ नगरसभाको पहिलो बैठक असार ६ गते बसेको थियो । महानगरपालिकाले ल्याएको रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।
यही असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल शुक्रबार सकाएर नगरसभाबाट पारित भएको हो ।