काठमाडौं ।भैरहवाको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि एरो थाइ कम्पनीका प्रतिनिधि नेपाल आइपुगेका छन् । विमानस्थल सञ्चालनका लागि पूरा गर्नुपर्ने उडान–अवतरणमा परीक्षणका प्रक्रियाहरुका लागि थाइ प्रतिनिधि नेपाल आइपुगेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पदाधिकारीले भने, ‘क्यालिब्रेसन फ्लाइटका लागि एरो थाइका प्रतिनिधि आइपुग्नु भएको छ। आज एउटा बैठक बसेपछि भोलि नै भैरहवा जाँदै हुनुहुन्छ। निरीक्षणपछि क्यालिब्रेसन फ्लाइटको मिति टुंगो लाग्नेछ।’
विमानस्थल आइसीवी जेरो वन र जेरो टुको आवश्यक तयारी भए नभएको यकिन भएपछि क्यालिब्रेसन गरिने उनले जानकारी दिए।
विमानस्थलमा जडान गरिएका उपकरण, लाइट, फ्रिक्वेन्सी इक्विपमेन्ट लगायत परीक्षण गर्नका लागि यो उडान गर्न लागिएको हो। प्राधिकरणका अनुसार परीक्षणमार्फत विमानस्थलका उपकरणको अवस्था पत्ता लाग्नेछ। त्यही अनुसार उपकरण व्यवस्थापन गरिँदै लगिनेछ।