काठमाडौं। लकडाउनका कारण ०७६ चैतदेखि रोकिएको काठमाडौंदेखि मुम्बई, बेंग्लोर र बनारस उडान २० महिनापछि सुचारु हुने भएको छ।
भारतले गत साता दुवै देशका वायुसेवाले सातामा ५६ वटा उडान गर्न सक्ने प्रस्ताव पठाएको थियो। सो प्रस्तावमा छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतलाई ०७६ चैत अघिकै अवस्थामा भइरहेका उडान सुचारु गर्न प्रस्ताव पठाउने निर्णय गरेको हो।आइतबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले भारतलाई दिल्लीबाहेक मुम्बई, बेंग्लोर र बनारस उडान सुचारु गराउने प्रस्ताव गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।
अब दुवै देशका अनुमति प्राप्त निजी वायुसेवाले पनि नेपाल भारत उडान गर्न पाउने भएका छन्। यो निर्णय अघि भारतले एयर बबल अवधारणमा दुई देशका ध्वाजाबहाक बाहेक अन्य वायुसेवालाई उडानमा रोक लगाएको थियो। त्यसैगरी नेपाल वायुसेवा निगमले भारतको दिल्लीमा दैनिक गर्दै आएको उडानलाई यात्रुको मागका आधारमा वृद्धि गर्न पाउने बाटो खुलेको छ। त्यस्तै, काठमाडौंबाट बनारस उडान गर्दै आएको बुद्ध एयरले पनि उडान गर्न पाउने भएको छ। यसैगरी भारतीय वायुसेवा इन्डिगो, स्पाइसजेट लगायत नेपाल उडान अनुमति पाएका भारतीय वायुसेवाले पनि काठमाडौं उडान गर्न पाउने भएका छन्। कात्तिक २६ गते पर्यटनमन्त्री आलेले दिल्लीस्थित भारतीय समकक्षी ज्योतिरादित्य सिंधियालाई भेटी यात्रुको माग अनुसार उडान संख्या बढाउन प्रस्ताव गरेका थिए।