गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना छिट्टै निर्माणमा लैजाने बताएका छन्। बुधबार आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले लामो बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेका हुन्।
कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना लामो समयदेखि अन्योलमा थियो। राजनीतिक चपेटामा परेको आयोजना स्वदेशी लगानीमै निर्माण हुने सुनिश्चितता समेत बढेर गएको छ।
प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै आयोजनाको शिलान्यास हुने र अब कुनै पनि बाहानामा ढिलाइ नगरिने प्रतिबद्धता जनाएका छन्।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत, धादिङ र गोरखाका प्रतिनिधिसभा सदस्य, मुख्यसचिव, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोली लिएर गोरखा पुगेका प्रधानमन्त्रीले आयोजनाका बारेमा अब कुनै पनि द्विविधा बाँकी नरहेको बताए।