झापा। झापाको मेचीनगर नगरपालिकाले सहर तथा ग्रामीण क्षेत्रका अव्यवस्थित तार हटाउन केबुल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ। नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर बिहीबार अव्यवस्थित तार हटाउन निर्देशन दिएका हुन्।
काँकडभिट्टा, धुलाबारी, इँटाभट्टा, चारआली, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी लगायतका स्थानका अव्यवस्थित तार व्यवस्थित गर्न निर्देशन दिइएको छ। लापरबाहीको हद भएपछि नगरपालिका ‘एक्सन’मा उत्रिन परेको पालिकाले जनाएको छ। तत्काल तार व्यवस्थित नगरिए नगर प्रहरी प्रयोग गर्ने प्रमुख बुढाथोकीको भनाइ छ।
क्षेत्रमा नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको खम्बा प्रयोग गरेबापत केबुल तथा इन्टरनेट कम्पनीले वार्षिक रु १८ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ।
गुजुल्टिएका तथा लत्रिएका तारका कारण आगलागी हुने र सहरी सौन्दर्यसमेत बिग्रने हुनाले व्यवस्थित गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ।