धादिङ। बुढीगण्डकी जलविद्युत् आयोजना तत्काल अघि बढाउन आयोजना प्रभावितले माग गरेका छन्। जलाशययुक्त १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित आरुघाट र त्यस वरपरका बासिन्दाले आफ्ना जनप्रतिनिधिसँग आयोजना निर्माण अघि बढाउन पहल गरिदिन आग्रह गरेका हुन्।
प्रतिनिधिसभा सांसद रामनाथ अधिकारीसँग प्राभावित क्षेत्रका बासिन्दाले आफूहरु जतिसक्दो छिटो बुढीगण्डकी परियोजना सुरु भई समयमा नै सम्पन्न भएको हेर्न चाहेको बताए। स्थानीय बासिन्दा बुढीगण्डकी परियोजना सम्पन्न हुन अझै केही समय लाग्ने भएकाले प्रभावित क्षेत्रमा रोकिएका विकास निर्माणका कामलाई सुचारु गराउन आग्रह गरेका छन् ।
आरुघाट बजार ऐतिहासिक बजार रहेकाले यसको महत्व नघट्ने गरी बजारलाई अर्को स्थानमा स्थानान्तरण गर्न जरुरी रहेको समेत उनीहरुको भनाइ छ। गोरखा र धादिङका बुढीगण्डकी परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरु अधिकांशले पुनर्स्थापनाको कार्यक्रममा जोड दिएका छन् ।
जग्गाको मुआब्जा पाए पनि वासस्थानको ग्यारेन्टी नभएको प्रभावित बासिन्दाको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिउरिनीटारमा बुढीगण्डकी जलविद्युत् आयोजना कम्पनी लिमिटेडको फिल्ड कार्यालयको उद्घाटन गरेपछि अब बन्छ कि भन्नेमा जनता उत्साहित भएका छन्।
जनताको गुनासो सुनेपछि सांसद रामनाथ अधिकारीले प्रभावित क्षेत्रको सबै नागरिकको समस्या समाधान गर्दै जलविद्युत् आयोजना तत्काल निर्माण सुरु गर्न सरकारलाई दबाब दिने प्रतिबद्धता जनाए।