काठमाडौं । विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको महत्वपूर्ण सम्पदा काष्ठमण्डपको लोकार्पण गर्ने तयारी गरिएको छ । भूकम्पका कारण क्षति पुगेको काष्ठमण्डपको पुनर्निर्माण सकिएसँगै लोकार्पण गर्ने तयारी गरिएको हो ।
काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएर पेटी र काठको बार लगाउने काम भइरहेको छ ।
पेटी र काठको बार लगाउने काम केही दिनमा सम्पन्न गरेर लोकार्पण गर्ने तयारी गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । काठमाडौं महानगरपालिकाको ११ करोड ५० लाख लागतमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।
धेरै काठ प्रयोग गरेर पुनःनिर्माण गरिएको काष्ठमण्डपमा पुनर्निर्माणका क्रममा राखिएका काठ कम्तीमा पनि दुई हजार वर्षसम्म टिक्ने समितिका सचिव गौतम डङ्गोल बताउँछन्। समिति अध्यक्ष शाक्यलगायतको समूहले बारा, पर्सा, रौतहट, महोत्तरी, कञ्चनपुरलगायत जिल्लाका जङ्गलमा गएर राम्रा काठ सङ्कलन गरेर ल्याई पुनर्निर्माण सम्पन्न भएको छ।
विसं २०७२ वैशाख १२ गतेअघि प्रयोग गरिएका दुई काठ पनि काष्ठमण्डप पुनर्निर्माणमा फेरि प्रयोग गरिएको छ । काष्ठमण्डपमा एउटा एक हजार ६ सय वर्ष पुरानो र अर्को एक हजार वर्ष पुराना काठ राखिएको छ ।