म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर जोड्ने र सिम्कोश बगर गाउँ पुग्ने पदमार्ग पहिरोले बगाएको छ। बुधबार दिउँसो नाउराको भिरमा पर्ने उजलामा खसेको पहिरोले ५० मिटर पैदलमार्ग बगाएको हो।
पैदलमार्ग बगाएपछि सिम्कोश बगर, धौलागिरि आधार शिविर र चक्रीय पदमार्गमा आवतजावत बन्द भएको छ।
बगरका बासिन्दासमेत रहेका वडासदस्य हरिप्रसाद तिलिजाले पहिराले पैदलमार्ग बगाएपछि बगर गाउँमा आवतजावत बन्द भएको जानकारी दिए । बगर र सिम्कोश गाउँ प्राकृतिक नाकाबन्दीमा परेको भन्दै उनले बगर हुँदै धौलागिरि आधार शिविर, हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्गमा जाने पर्यटकका लागि समेत आवतजावत ठप्प भएको छ।
पदमार्ग बगाएपछि बगर गाउँमा पुग्ने र गाउँबाट बाहिर जान सकेका छैनन् । गाउँ बाहिरको विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थी समस्यामा परेका छन् । बिरामीलाई अस्पताल पुग्न महँगो खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।