काठमाडौं। सरकारले सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनको आगामी मङ्सिरदेखि प्रवलीकरण सुरु गर्ने भएको छ। राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिलाई मन्त्रालयका पदाधिकारीले ऐतिहासिक राजनीतिक र नेपाली वास्तुकलाको महत्व बोकेको भवनलाई पुरानै शैलीमा प्रवलीकरण गरिने जानकारी गराएको हो।
समितिको बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको संसदीय इतिहासको साक्षीकारुपमा रहेको भवन र त्यहाँको वास्तुकलामा कुनै क्षति नपुर्याइ पुरानो शैली जस्ताको त्यस्तै ढाँचामा निर्माणका लागि कोसिस गरिने स्पष्ट पारिन्।
उनले भनिन्, ‘नेपालको संसदीय इतिहास र भवनबारे भावी पुस्ताले हेर्न तथा जान्न सकुन भन्ने उद्देश्यले ग्यालरी बैठक भवनलाई संसदीय सङ्ग्रहालयका रुपमा विकास गर्न पुरानै ढाँचामा प्रवलीकरणको कार्ययोजना अघि बढाइएको छ।’ ग्यालरी बैठक निर्माण योजना तयार गर्ने, बजेट व्यवस्थापन र कार्यक्रम कार्यान्वयनको सम्पूर्ण जिम्मा सहरी विकास मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ । पुरातात्विक प्रतिवेदनअनुसार ग्यालरी बैठक भवन एक सय वर्षभन्दा पुरानो भएको तथा माटोद्वारा निर्माण गरिएकाले प्रवलीकरण महङ्गो हुनसक्ने अनुमान गरिएको छ ।