पर्सा। वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिरहेको छ। खानेपानीको अभाव परिपूर्ती गर्न महानगरले टोलटोलमा ट्याङ्करबाट पानी वितरण गर्ने र विभिन्न स्थानमा अस्थायी ट्याङ्की राखेर पानी वितरणको व्यवस्था मिलाएको हो।
महानगरपालिकाले समयतालिका नै सार्वजनिक गरेर वडामा पानी वितरणका गरिरहेको छ। महानगरले बिहान ५ देखि राति ८ बजेसम्म विभिन्न १९ वटा वडामा ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने महानगरले जनाएको छ।
महानगरका अनुसार ट्याङ्करबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सातवटा वडाको विभिन्न स्थानमा अस्थायी ट्याङ्की राखिएको छ । यसका साथै खानेपानी संस्थानको पाइपलाइन विस्तार भएका ठाउँको सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ ।
खानेपानीको पाइप लाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाले जनाएको छ। बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगन्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ ।