धनुषा। जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र दोस्रो पटक सौन्र्दयीकरण र सडक कालोपत्रे हुने भएको छ। एशियाली विकास बैंक (एडीबी) को सहयोगमा दोस्रो पटक नगरको सौन्र्दयीकरण र कालोपत्रे सडकको निर्माणको काम हुने भएको हो।
एडीबीको सहयोगमा जनकपुरधाम उपमहानगरपालिकाको ग्रामीण क्षेत्रलाई बजारसँग जोड्न सञ्चालन हुने अर्वान रिसाइलेन्स एण्ड लिभाविलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (यूआरएलआइपी) मार्फत नगरको ताल तलैया र पोखरीको सौन्र्दयीकरण र कालोपत्रे सडक निर्माणको काम हुने आयोजना प्रोजेक्ट मैनेजर एवम बरिष्ठ इन्जिनियर बिरेन्द्र यादवले जानकारी दिए।
सो कामकाज गर्न जनकपुरधाममा शुक्रबार एक कार्यक्रमबीच नगर प्रमुख मनोजकुमार साहले प्रोजेक्ट इम्पलिमेन्टेशन युनिट (पिआइयू) को कार्यालय उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख साहले नगरमा सञ्चालन हुने युआरएलआइपी आयोजनाले १६ वटा वडाबाट विस्तार भएर २५ वटा वाडामा फैलिएको जनकपुरधाम उपमहानगरपालिकाको सबै वडाले यसको लाभ लिने बताए।
एडीबीको सहयोगमा २८ किलोमिटर सडक निर्माण र जनकपुरधामको रत्नसागर पोखरीको सौन्र्दयीकरणका लागि करिव तीन अर्व रुपियाँ आउने छ। यसमा ७५ प्रतिशत रकम अनुदान, १८ प्रतिशत टिडिएफको सफ्ट लोन र ७ प्रतिशत म्याँचिङ फण्ड रहने छ।
नगर प्रमुख साहले देशको १० सहरमा लागु भएको सो आयोजना जनकपुरधाममा पनि लागु भएको हो।